काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदारलाई कालोसूचीमा राखेको छ । कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै उनीहरुलाई कालोसूचीमा राखेको जनाएको हो ।
सूचना अनुसार ती कम्पनीहरू न्यूनतम १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा परेका छन् । थुप्रै निर्माणका कामहरू अलपत्र पारेको र गुणस्तरहिन काम गरेको भन्दै सर्वाधिक विवादमा आएको पूर्वसांसद हरिनारायण रौनियारको श्री पप्पु कन्स्ट्रक्सन प्रा.लिलाई सडक विभाग अन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरको उजुरीका आधारमा कालोसूचीमा राखिएको हो ।
पप्पु कन्स्ट्रक्सनलाई सबैभन्दा बढी ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । पप्पुसँगै कालोसूचीमा परेका अन्य कम्पनीहरूमा निशा सप्लायर्स-हेटौंडा, सूर्योदय निर्माण एन्ड हाउजिङ कम्पनी प्रा.लि काठमाडौं, बारा कन्स्ट्रक्सन काठमाडौं, एचबी केसी निर्माण सेवा सिन्धुपाल्चोक तथा श्रीदेव सप्लायर्स काठमाडौं छन् ।
पप्पु बाहेकका अन्य कम्पनीलाई कार्यालयले समान १ वर्षका लागि कालोसूचीमा राखेएको छ । कालोसूचीमा राखिएको अवधिभर यी ठेकेदार कम्पनीहरुले सार्वजनिक निकायले अघि बढाउने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६