काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि याैन दुर्व्यवहार गरेकाे अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाकाे बहस सकिए पनि फैसला भने सोमबारमा मात्र हुने भएको छ ।
आइतबार सुनुवाइ भएको मुद्दामा समय अभावले फैसला हुन नसकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ र भाेलि साेमबार फैसला आउने छ। ।
काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडलको इजलासमा महराविरुद्धको जबरजस्ती करणी उद्योग मुद्दाको अन्तिम सुनुवाइ भएको थियाे ।
आइतबार काठमाडाैँ जिल्ला अदालतमा महराको तर्फबाट अभिवक्ताहरु भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैलानी, मुरारी सापकोटा लगायत ८ जना वकिलले महराको तर्फबाट बहस गरेका थिए ।
२६ माघमा जिल्ला अदालतमा मुद्दाको अन्तिम फैसलाका लागि सुनुवाइ सुरु भएको थियो । सरकारी वकिल कार्यालयको तर्फबाट भने यसअघि नै बहस सकिएको थियो ।
सरकारी वकिल कार्यालयका तर्फबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ता उमाकान्त पौडेल, जिल्ला न्यायाधिवक्ता हरिप्रसाद रेग्मी र उपन्यायाधिवक्ता बिनिता कपालीले बहस गरेका थिए ।
संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेकाे अभियोगमा गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्ला अदालतले थुनामा पएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । तर, उच्च अदालतले जिल्लातकै आदेशलाई सदर गर्दै १ महिनाभित्र फैसला गर्न आदेश गरेकाे थियाे ।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएकाे थियाे ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६