काठमाडौँ । बालुवाटारको ललिता निवास रहेकाे सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेकाे आराेपमा मुछिएका आरोपित विजय गच्छदारसहित १ सय ७२ जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा ठगी मुद्दा दर्ता भएको छ ।
आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) ले गृहमन्त्रालयको जाहेरीमा मुद्दा दर्ता गरेसँगै आरोपीहरुलाई पक्राउ गरेर मुद्दा अघि बढाउने बाटो खुलेको हो ।
सीआईबीका प्रमुख डीआईजी निरज शाहीका अनुसार गृहमन्त्रालयको जाहेरीको आधारमा उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता भएको हो ।
आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुनसक्छ व्यवस्था छ ।
सीआईबीले १ सय ३६ रोपनी सरकारी जग्गा खरिद बिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १ सय ७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरेको थियो ।
जग्गा खरिदबिक्रीमा संलग्नमध्ये गलत निर्णय गर्ने पदाधिकारी, नक्कली मोही, दलाल र खरिदकर्तासहित विभिन्न ‘वर्ग’मा विभाजन गरी कतिपयलाई प्रहरी हिरासतमा राखेर ठगी र किर्तेमा अनुसन्धान गर्नुपर्ने ब्युरो प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६