आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीका रुपमा शपथ लिएका छन् ।
दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवाललाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।
अरविन्द केजरीवालपछि मनीष सिसोदियाले मन्त्री पदको शपथ लिए । केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाइएको थिएन ।
आम आदमी पार्टीले शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्ता पठाएको थियाे । यद्यपि प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वाराणासी पुगेका छन् । यसका साथै दिल्लीका ७ जना सांसद, सबै निगम पार्षदहरु, भाजपा र काङ्ग्रेसका प्रदेश अध्यक्षलाई पनि आमन्त्रण गरिएको थियो ।
आपले दिल्ली विधानसभाको चुनावमा २ तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कुल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थान मात्र जित्याे ।
यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शीला दीक्षितको नेतृत्वमा लगातार ३ पटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कांग्रेसले पछिल्ला दुवै चुनावमा खातासमेत खोल्न सकेन ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६