काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीफ स्कुलको आयोजनामा जारी छैठौँ नेपाल एपीएफ स्कुलकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको क्वाटरफाइनल खेलबाट ग्रिन भिलेज र हारती शिक्षा मन्दिरले सेमिफाइनलको यात्रा सुनिश्चित गरेका छन् ।
क्वाटरफाइनलअन्तर्गतको पहिलो खेलमा ग्रिन भिलेज एजुकेसन पmाउन्डेसनले सैनिक आवासीय महाविद्यालयलाई ३–१ गोलको अन्तरले पराजित गर्यो ।
ग्रिन भिलेजका लागि समीर बोहोराले २ गोल र सरुण कुँवरले १ गोल गरेका थिए भने सैनिक आवासीयका तर्फबाट विमर्श थापाले १ गोल फर्काएका थिए ।
त्यसैगरी आज भएको दोस्रो खेलमा हारती शिक्षा मन्दिर र लिटल एन्जल्स स्कुलले निर्धारित समयसम्म १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरतर्फ गएको थियो ।
खेलको निर्धारित अवधिमा हारतीका सागर लामा र एलएका प्रसिद्धजंग घलेले समान १ गोल गरेका थिए । टाइबे्रकरमा हारतीले ४ का विरुद्ध ५ गोल गर्दै जित निकाल्न सफल भयो ।
यसैगरी तेस्रो क्वाटरफाइनल खेल आयोजक नेपाल एपीएफ स्कुल र ल्याब्रोटरी माविबीच शनिबार बिहान १० बजे हुने छ भने चौथो क्वाटरफाइनल खेल ब्राइट होराइजन चिल्ड्रेन होम स्कुल र नेपाल पुलिस स्कुलबीच शनिबार १२ बजे हुने एपीएफ स्कुलका खेलकुद संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६