काठमाडौं । नागढुंगादेखि मुग्लिनसम्मको ९४ दशमलव ७ किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल १ देखि २ लेन चौडाइ रहेको सडकलाई ४ देखि ६ लेनसम्म विस्तार गर्न लागिएको हो ।
सडकमा साँघुरा मोड रहेकाले त्यसलाई समेत सुधार गरिने सडक विभागले जनाएको छ । मोड सुधार गर्दा सडकको लम्बाई नै केही घट्न जाने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । यस सडकमा सम्भव भएसम्म ६ लेन बनाइने छ भने नसकिने स्थानमा ४ लेनमा विस्तार गरिने छ ।
उनले भने, गजुरी, मलेखुलगायतका बजार क्षेत्रमा चार लेन सडक बन्ने छ । सडक विस्तारका क्रममा २१ पुलसमेत निर्माण गरिने भएको छ । ती सबै पुल ४ लेनको हुने बताइएको छ ।
हाल भइरहेका पुल २ लेन मात्रै भएकाले त्यसलाई नभत्काई त्यससँगै ‘साइड’मा सडक जत्तिकै चौडाइको पुल निर्माण गर्न लागिएको हो । सोही परियोजनाअन्तर्गत झण्डै १० वटा आकाशेपुल निर्माण गर्ने योजना छ ।
सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकन प्रतिवेदन (इएसआइए) तयार भइसकेको छ ।
नागढुंगा–नौबिसे–मुग्लिन सडकखण्ड रणनीतक सडक पहुँच तथा व्यापारिक सुधार आयोजनाअन्तर्गत स्तरोन्नति गर्न लागिएको हो । सडक त्रिभुवन राजपथअन्तर्गत नागढुंगादेखि नौबिसेसम्म १२ दशमलव ७ किमी र पुथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन ८२ दशमलव ४ किमी छ ।
विश्व बैंकको ऋण सहयोगमा यो सडकखण्डको विस्तार गर्न लागिएको हो । सडक निर्माण भएको ५ वर्षसम्म सम्बन्धित निर्माण कम्पनीले नै सडकको मर्मतसम्भार गर्नुपर्ने प्रावधानसहित अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने छ । सो सडक निर्माणका लागि झण्डै १६ अर्ब रुपैयाँँको लागत लाग्ने अनुमान गरिएको छ ।
यस सडक विस्तारका लागि ३ वर्ष लाग्ने अनुमान गरिएको छ । यो सडक प्रदेश ३ को काठमाडौँ, धादिङ र चितवन जिल्लामा फैलिएको छ । काठमाडौँ जिल्लाको नागढुंगा चेकपोस्टबाट सुरु भएर नौबिसे, खानीखोला, महादेवबेँसी, गल्छी, बैरेनी, मलेखु बेनीघाट, कुरिनटार हुँदै चितवन जिल्लाको मुग्लिनसम्म सडक छ ।
यो सडक एसियाली राजमार्ग मापदण्डानुसार २ लेन, ७ मिटर ‘क्यारिजवे’ र १ देखि २ दशमलव ५ मिटरसम्म ‘सोल्जर’सहित स्तरोन्नति गर्न लागिएको हो ।
१ वर्षमा खरिद प्रक्रियालगायतका कागजी प्रक्रिया पूरा गर्ने र अर्को वर्षदेखि सडक विस्तार गरिने योजना रहेको विभागले जनाएको छ । यस सडकको विस्तारको तयारीसँगै त्यसको विकल्पका रूपमा त्रिशूली नदी पारिपट्टिको सडक निर्माणको योजना बनाइएको छ ।
राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारम्म २ लेनको सहायक सडक निर्माण गर्न लागिएको हो । पहिले नै ट्रयाक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने प्रमुख थापाले बताए ।
स्थानीय निकायले अहिले नै गल्छीदेखि मलेखुसम्म ट्रयाक खोलेर सञ्चालनमा ल्याएको छ । त्यसलाई २ लेन सडकका रूपमा विस्तार गरेर कालोपत्र गर्ने गरी तयारी अघि बढाइएको छ ।
उनले भने, मलेखुबाट विशालटारसम्म पनि ट्रयाक खोल्न समस्या छैन । नागढुंगा–मुग्लिन सडक सरकारले ६ लेन विस्तारको तयारी गरिरहे पनि बजार क्षेत्रमा ४ लेनभन्दा विस्तार गर्न नसकिने हुँदा वैकल्पिक रूपमा पारिपट्टि पनि सँगसँगै निर्माण गर्न लागिएको हो । कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण ४ लेनमा विस्तार गर्न नसकिने अवस्थाले यो सडकलाई विकल्पका रूपमा अघि बढाइएको हो ।
हाल पनि ठाउँठाउँमा पुल रहेको र आगामी दिनमा निर्माण हुने पुलले वारिपारि गर्न कुनै समस्या नहुने प्रमुख थापाले बताए । उनले भने, यसले एकातिर स्थानीयवासी लाभान्वित हुने छन् भने अर्कातिर पृथ्वी राजमार्ग भएर हिँड्ने सवारीसाधन पनि पारिबाटसमेत आवतजावत गर्न सक्छन् ।
नयाँ संरचनाअनुसार नेपाल सरकारको अधिकार क्षेत्रमा रणनीतिक सडक मात्रै परेसँगै सरकारले सडकको स्तरोन्नतिलाई समेत ध्यान दिन थालेको छ ।
सरकारले २ वर्ष पहिले नै २ लेनभन्दा कम चौडाइको सडक निर्माण नगर्ने निर्णय गर्दै भएका सडकको विस्तार सुरु गरेको हो । त्रिभुवन राजपथ, पुथ्वी राजमार्ग, धुलिखेल–सिन्धुली–बर्दिवासलगायतका विभिन्न सडक विस्तारका क्रममा छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६