भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ को उद्घाटन गरेका छन् ।
बिहीबार उद्घाटन गर्दै उनले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रिट करिब ३ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।
अम्ब्रेला स्ट्रिटमा लहरै चार सय ८० वटा रङ्गीन छाता राखिएको छ । रङ्गीन छाताले उक्त क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ । यसको प्रचारप्रसार तथा स्थानीय खानाका परिकारलाई प्रवर्धन गर्न पटिहानी खाना महोत्सव आयोजना गरिएको आयोजकले जनाएकाे छ ।
महोत्सवमा २० वटा प्रदर्शनीकक्ष छन् । कक्षमा स्थानीय खानाका परिकारलाई जोड दिइएको खाना महोत्सव प्रचारप्रसार समितिका संयोजक रामहरि सेढाईले जानकारी दिए ।
अम्ब्रेला स्ट्रिटमा सांगीतक कार्यक्रमसमेत आयोजना गरिएको छ । पर्यटकका लागि महोत्सव अवधिमा विशेष छुटको समेत घोषणा गरिएको छ ।
५ हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य संघ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, महोत्सव अवधिभर डुङ्गा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६