कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा बुधबार १० गुणाले बढेको छ। मृत्युको संख्या पनि अघिल्लो दिनको तुलनामा २ गुणाले बढेको छ।
चीनको हुवेई प्रान्तमा मात्रै १२ फेब्रुअरी बुधबार संक्रमणबाट २ सय ४२ जनाको ज्यान गएको छ। एकै दिन १४ हजार ८ सय ४० नयाँ सक्रमित भेटिएका छन् भने ३ हजार ४ सय ४१ जना उपचारपछि घर फर्किएको चीनको राष्ट्रिय आयोगले जनाएको छ।
यससँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० हजार ६३ पुगेको छ भने मृतकको संख्या १ हजार ३ सय ६३ नाघेको छ। साथै ५ हजार ६ सय ८० जनाकाे उपचार सफल भएको आयोगको भनाइ छ ।
सङ्क्रमणको केन्द्रबिन्दु हुवेई प्रान्तमा सोमबार १ सय ३ जनाको मृत्यु भएको थियो भने आइतबार ९७ जनाको मृत्यु भएको थियो । प्रकोपले हरेक दिन मृत्यु हुने बिरामीको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ।
सोमबारसम्म मृतकको संख्या बढे पनि नयाँ सङ्क्रमणको सङ्ख्या हरेक अघिल्लो दिनको तुलनामा घटेको भनिएको थियो । कोरोनाभाइसको संक्रमण सन् २००२/२००३ मा फैलिएको सार्स प्रकोपभन्दा ठूलो महामारीका रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६