काठमाडौंं । नेपाल एपीफ स्कुल कीर्तिपुरको आयोजनामा जारी छैठौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार ३ खेल सम्पन्न भएका छन् । यससँगै प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेल सकिएका छन् ।
बुधबार भएको पहिलो खेलमा ग्रिन भिलेज एजुकेसन फाउन्डेसन र ब्राइट होराइजन चिल्ड्रेन होम स्कुलले १–१ गोलको बराबरी खेलेका छन् । ग्रिन भिलेजका समीर बोहोराले गोल गरेका थिए भने ब्राइट होराइजनका चक्र सिंहले गोल गरी खेललाई बराबरी गरेका थिए ।
त्यसैगरी आज भएको दोस्रो खेलमा राराहिल मेमोरियल स्कुलले साल्भिनिया एकेडेमीलाई २–० को गोल अन्तरले पराजित ग¥यो । राराहिललाई विजयी गराउन सुजन महर्जन र नरेश बोहोराले १र१ गोल गरे ।
बुधबारको अन्तिम खेलमा नेपाल पुलिस स्कुल र सैनिक आवासीय महाविद्यालयले बराबरी खेलेका छन् । प्रतियोगितामा सहभागी १८ मध्ये ८ स्कुल क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । जसमा ग्रुप एबाट आयोजक नेपाल एपीएफ स्कुल विजेता र हारती शिक्षा मन्दिर उपविजेता हुँदै क्वाटरफाइनल यात्रा तय गरेका हुन् ।
यसैगरी ग्रुप बीबाट सैनिक आवासीय महाविद्यालय विजेता र नेपाल पुलिस स्कुल उपविजेता हुँदै अगाडि बढे भने ग्रुप सीबाट लिटल एन्जल्स स्कुल विजेता र ल्याब्रोटरी मावि उपविजेता भएर क्वाटरफाइनल पुगे । ग्रुप डीबाट ब्राइट होराइजन विजेता र ग्रिन भिलेज उपविजेता हुँदै क्वाटरफाइनल यात्रा सुनिश्चित गरेका हुन् ।
यसैबीच पहिलो क्वाटरफाइनल खेल सैनिक आवासीय महाविद्यालय र ग्रिन भिलेजबीच फागुन २ गते हुने छ भने दोस्रो खेल सोही दिन लिटल एन्जल्स स्कुल र हारती शिक्षा मन्दिरबीच हुने नेपाल एपीएफ स्कुलका खेलकुद संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए ।
यसैगरी तेस्रो र चौथो क्वाटरफाइनल खेल क्रमशः आयोजक नेपाल एपीएफ स्कुल र ल्याब्रोटरी मावि तथा ब्राइट होराइजन र नेपाल पुलिस स्कुलबीच फागुन ३ गते हुने प्याकुरेलले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६