मेलम्ची । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए । उनका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको बताए ।
सो क्षेत्रमा हाल देखापरेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरी उपचार सुरु गरिएको छ ।
बिरामीमध्ये केहीलाई निकोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईले बताए । साथै त्यहाँको भाइरल सङ्क्रमणबारे जाँच गर्न आफूहरुले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाँडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको बताए ।
अहिले जलवीरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन् । गाउँमा १ सय ५० मा रुघाखोकी र ज्वरो देखिएको तथा १० जनाको उपचार भएको छ भने १ जनाको अवस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले जनाकारी दिए ।
गाउँमा भाइरल सङ्क्रमण भएपछि कोरोना भाइरसको लक्ष्यणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचारसमेत गरको छ ।
सो स्थानमा विगत ३ दिनदेखि बिरामीको सङ्ख्या बढेको हो । २ जना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् ।
आज बिहानसम्म २ सय १ जनाले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन् । उनीहरुमध्ये १ सय ५० मा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६