काठमाडौँ । आठ जना भारतीय नागरिककाे ज्यान गएपछि सरकारले मकवानपुरको दामनमा रहेको एभरेस्ट पानोरमा रिसोर्ट ३ महिनाका लागि बन्द गर्न निर्देशन दिएको छ ।
माघ ६ गते रिसोर्टमा बसेका ८ जना भारतीय नागरिकको निसास्सिएर ज्यान गएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।
समितिले रिसोर्टले सुरक्षात्मक उपाय नअपनाएको, व्यवस्थापकीय कमजोरी रहेको र स्तर वर्गीकरण पनि नगरेको पाइएको भन्दै रिसोर्ट निलम्बन गर्न सिफारिस गरेको थियो ।
समितिको सिफारिस अनुसार मन्त्रालयले मंगलबार विज्ञप्तिमार्फत एभरेस्ट पानोरमा रिसोर्ट ३ महिनाका लागि बन्द गर्न निर्देशन दिएको जनाएको छ। अब वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गराएर मात्रै रिसोर्ट सञ्चालन गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६