काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीफ स्कुलको आयोजनामा जारी छैठौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल सम्पन्न भएका छन् । मंगलबारको खेलपछि आयोजक नेपाल एपीएफ स्कुलसहित ८ स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।
आज भएको पहिलो खेलमा नेपाल पुलिस स्कुलले राराहिल मेमोरियल स्कुललाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो । पुलिस स्कुलका तर्फबाट सन्देश तामाङले ३ गोल र ईशान राईले १ गोल गरे भने आत्मघाती १ गोल भएको थियो ।
त्यसैगरी आज भएको दोस्रो खेलमा ग्रिन भिलेज एजुकेसन फाउन्डेसन स्कुलले जनसेवा माविलाई २–० को गोलअन्तरले पराजित गर्यो । ग्रिन भिलेजलाई विजयी गराउन दिनेश विष्ट र गोविन्द सिंहले १–१ गोल गरे ।
यसैगरी तेस्रो खेलमा ब्राइट होराइजन चिल्ड्रेन होम स्कुलले एम्ब्रोसिया इन्टरनेसनल स्कुललाई ३–० गोलअन्तरले पराजित गर्यो । ब्राइट होराइजनका तर्फबाट सन्देश महतराले २ र रेगन फडेराले १ गोल गरेका थिए ।
आजै भएको अन्तिम खेलमा पुष्पसदन आवासीय माध्यमिक विद्यालयले साल्भिनिया एकेडेमीलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो । पुष्पसदनका तर्फबाट नुर्बु तामाङले २, निगम राईले १, आयुष राईले २ गोल गरेका थिए भने १ आत्मघाती गोल भएको थियो ।
यसका साथै बुधबार ४ खेल भएसँगै लिग चरणका सम्पूर्ण खेल समाप्त हुने छन् । बुधबार ग्रिन भिलेज एजुकेसन फाउन्डेसन र ब्राइट होराइजन, राराहिल मेमोरियल र साल्भिनिया एकेडेमी, नेपाल पुलिस स्कुल र सैनिक आवासीय महाविद्यालय तथा जनसेवा मावि र जेम्स स्कुलबीच प्रतिस्पर्धा हुने छ ।
चार वटा लिग चरणका खेल बाँकी छँदै क्वाटरफाईनल यात्रा सुनिश्चित गर्ने टिमहरु तय भइसकेका छन् । जसमा आयोजक नेपाल एपीएफ, ग्रिन भिलेज, ब्राइट होराइजन, सैनिक आवासीय महाविद्यालय, नेपाल पुलिस स्कुल, ल्याब्रोटरी मा.वि., हारती शिक्षा मन्दिर र लिटल एन्जल्स स्कुल क्वाटरफाइनल पुगिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६