काठमाडौं । ठाकुरप्रसाद ज्ञवाली नेपाल प्रहरीकाे सर्वाेच्च पदमा पुगेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको २७औं प्रहरी महानिरीक्षक (आइजी) मा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको हो ।
प्रदेश १ प्रहरी कार्यालय प्रमुख रहेका ज्ञवालीलाई आइजी बनाउन गृह मन्त्रालयले तयार पारेको प्रस्ताव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेले मन्त्रिपरिषदमा पेस गरेका थिए ।
हालका आइजिपी सर्वेन्द्र खनालसहित ३ एआईजी र उनका ब्याचका डीआईजीहरुले ३० वर्षे सेवाहदका कारण मंगलबारबाटै अवकाश पाउँदै छन् ।
आईजीपी खनालसँगै एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यात सेवाहदकै कारण अवकाश भएपछि डीआइजीबाटै आइजी बनाउनुपरेकाे हाे ।
ज्ञवाली २०७५ असोजमा एसएसपीबाट डीआईजी र २०७३ असारमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए । ३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवाली ५ महिना आइजी बन्ने छन् । उनले प्रहरी सेवा नियमावलीको प्रावधान अनुसार आउँदो २५ असार २०७७ मा अनिवार्य अवकाश पाउने छन्।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६