काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेका छन्। गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका हुन्। आजकाे नागरिक दैनिकमा समाचार छ ।
आइतबार बिहानदेखि सामान्य बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक र ‘सगरमाथा संवाद’ उद्घाटन कार्यक्रममा सहभागी हुन सकेका थिएनन् तर अपराह्न राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा थोरै समय सहभागी भएका थिए। सोही कार्यक्रमपछि बालुवाटार पुगेका ओलीले गौतमलाई बोलाएर पार्टी उपाध्यक्ष बनेकोमा बधाई दिँदै मिठाईसमेत खुवाए।
प्रधानमन्त्री ओलीले भेटमा गौतमलाई २ नं. प्रदेशमा भएको पार्टी विवाद मिलाउनसमेत निर्देशन दिएका थिए। उनले पार्टीको जिम्मेवार तहमा रहेको तथा संगठन विभाग प्रमुख पनि भएको हैसियतले पार्टीभित्र देखिएका विवाद साम्य पार्ने दायित्व गौतमको भएको बताएको स्रोतले जनाएको छ।
‘प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बिरामी भएकाले सार्वजनिक कार्यक्रम सबै रद्द गरिएका थिए अपराह्न भने राष्ट्रिय योजना आयोगले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो’, बालुवाटार निकट स्रोतले भन्यो, ‘बेलुकी उपाध्यक्ष गौतमसँग बस्नुभयो र पार्टीका विविध विषयमा कुराकानी भयो।’ शनिबार नियमित डायलाइसिस गरेका ओली आइतबार दिनभर टाउको दुख्यो भनी निवासमै बसेका थिए। केही दिनको दौडधुपले थकाएपछि प्रधानमन्त्रीले आइतबारका लागि तय भएका सबै कार्यक्रम स्थगित गरेका थिए।
पुस २३ गते गौतम निवासमा जम्मा भएका नेकपा शीर्ष नेताहरुको भेलाले ओलीलाई पार्टीभित्र निकै असहज बनाएको थियो। त्यसयता ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग पनि छुट्टाछुट्टै भेटघाट गरेका थिए। त्यसपछि ओलीले नेकपाका उपाध्यक्ष गौतमसँग भेट गरी पार्टी सञ्चालनका विषयमा छलफल गरेका हुन्। ‘ओलीले गौतमलाई एक्लै भेटेर सम्बन्ध कसिलो बनाउने कोसिस गरेको देखिन्छ ’, नेकपाका एक नेताले भने, ‘ओलीले नेताहरुसँग एक्लाएक्लै भेटेर सम्बन्ध सुधार्न खोजेको हुन सक्छ।’
गौतमले प्रदेश २ मा रहेको पार्टीको आन्तरिक विवाद मिलाउने जिम्मेवारीसमेत पाएका छन्। प्रदेश २ को पार्टी विवाद मिलाउन नेकपा स्थायी कमिटीले संगठन विभागलाई जिम्मा दिइसकेको छ। २० माघमा बसेको विभागको बैठकले प्रमुख र एक सदस्य मधेस जाने र पार्टी विवाद समाधान नगरी काठमाडौं नफर्किने निर्णय लिएको थियो।
गौतमले मधेसको पार्टी समस्याका विषयमा आइतबार पनि विभागकै सदस्यद्वय अष्टलक्ष्मी शाक्य र मात्रिका यादव तथा नेता रघुविर महासेठसँग सामूहिक छलफल गरेका थिए। त्यसपछि उनी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको उनी निकट स्रोतले जनाएको छ। ‘संगठन विभाग प्रमुख समेत भएकाले पार्टीको आन्तरिक छलफल गर्न र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उहाँ बालुवाटार जानुभएको हो’, गौतम निकट एक नेताले भने।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६