काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको पाइएको छ । सिसिटिभी फुटेजमा चौधरीले पिर्काले हानेर कार्कीकी श्रीमती मुनाकाे हत्या गरेको देखिएको हो ।
किचनछेउकाे सिसिटिभी क्यामराको फुटेज हेरेपछि कामदार चौधरीले नै हत्या गरेको पुष्टि भएकाे प्रहरी स्राेतले बताएकाे छ । प्रहरीका अनुसार सिसिटिभी फुटेजमा बिहान १० बजेर ८ मिनेटमा चौधरी किचनमा गएको र कार्की पछाडि फर्किएका बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको छ ।
भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपालले समातेर भुइँमा बजारेको देखिएको स्राेतले जनाएकाे छ । यद्यपि प्रहरीले आधिकारिक रुपमा भने याे विषयमा सार्वजनिक गरेकाे छैन ।
ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा आफ्नै घरमा सोमबार बिहान मुना कार्कीसँगै घरमा काम गर्ने विजय चौधरी पनि मृत अवस्थामा फेला परेका थिए ।
मुना उनको घरको भान्साकोठामा रक्ताम्य र अचेत अवस्थामा भेटिएपछि स्टार अस्पतालमा लगिएको थियो भने चौधरी अर्को कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए । उनी झुन्डिएकाे ठाउँ भने सिसिटिभी कभरेजमा देखिएको छैन ।
प्रहरीले कामदारले मुनामाथि धारिलो वस्तु प्रहार गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको आशंका गरेको छ । घटनाको विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६