काठमाडाैं । भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा १ युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरी पोस्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनको साथबाट २ सय ८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र ६ थान सुई फेला पारेको छ ।
भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शंका लागेपछि परीक्षण गर्दा लागुऔषध बरामद भएपछि कारबाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोस्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले जानकारी दिए ।
सरकारी कागज किर्ते आरोपमा कर्मचारी पक्राउ
यसैगरी सप्तरीमा सरकारी कागज किर्ते गरेको आरोपमा १ कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज किर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको प्रनाउ भारतीले बताए । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६