अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ ।
हजारौँ मानिस आफ्ना घर छाड्न बाध्य भएका छन् । सो क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार गत ४ दिनमा त्यहाँ झन्डै ४ सय मिलिमिटर पानी परेको छ ।
सो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ । झन्डै १ लाख घरमा बिजुली गएको छ ।
डढेलो निभ्दै
केही महिनायता न्यु साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई वर्षाले निभाइदिएको छ । विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ । उक्त डढेलोले ५ सय हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३ सय १२ वटा घर नष्ट गरेकाे थियाे ।
मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ ।
हाल न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै डढेलो लागिरहेको थियो । भीषण वर्षाका कारण वर्षौँदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा भरथेग भएको छ।
सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ । गत सातामात्र त्यहाँ जम्मा ४२ प्रतिशत पानी भरिएको थियो ।
चेतावनी
अस्ट्रेलियाको सबभन्दा धेरै जनसङ्ख्या भएको न्यु साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ ।
सिड्नीमा मात्र कम्तीमा २ सय जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन् । सोमवार बिहान त्यहाँको रेल तथा डुंगा सेवा अवरुद्ध भएको छ । सिड्नीको एउटा मुख्य स्टेसन सेन्ट्रलका कैयौँ प्लेटफर्म पानीमा डुबेका छन् । दर्जनौँ स्कूल बन्द भएका छन् । मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ ।
सहरका तल्ला भूभागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति तम्तयार रहन भनिएको छ । सेन्ट्रल सिड्नीमा सोमवार पानी रोकिएको छ । तर यो साताभरि थप वर्षाको पूर्वानुमान गरिएको छ । स्राेत : बिबिसी
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६