काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीफ स्कुलको आयोजनामा भइरहेको छैठौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताअन्तर्गत आज आइतबार लिग चरणका ४ खेल सम्पन्न भएका छन् ।
आइतबार भएको पहिलो खेलमा आयोजक नेपाल एपीएफ स्कुलले हारती शिक्षा मन्दिर स्कुललाई २–० गोल अन्तरले पराजित गर्यो । आयोजक नेपाल एपीएफ स्कुलललाई विजयी गराउन सुरज खत्री र विसन महर्जनले १-१ गोल गरे ।
एपीएफसँग हारे पनि समूह चरणबाट विजयी र रनर अप टिम क्वाटरफाइनलमा जाने भएकाले हारती शिक्षा मन्दिर पनि एपीएफसँगै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।
त्यसैगरी आज भएको दोस्रो खेलमा लिटल एन्जल्स स्कुल (एलए) ले लोयल्टी एकेडेमीलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो । एलए स्कुललाई विजयी गराउन सुवर्ण बस्नेतले २ गोल, लक्ष्य महर्जनले १ र लुकेश गुरुङले १ गोल गरेका थिए । त्यसैगरी लोयल्टी एकेडेमीको तर्फबाट समीप राईले सान्त्वना गोल गरेका थिए ।
यसैगरी भएको तेस्रो खेलमा नेपाल पुलिस स्कुलले साल्भिनिया एकेडेमीलाई ५–० गोलअन्तरले पराजित गर्यो । नेपाल पुलिस स्कुलको तर्फबाट सन्देश तामाङ २, सोडिन अवाल २ र पदम चौलागाईंले १ गोल गरे ।
आइतबारको अन्तिम खेलमा ब्राइट होराइजन चिल्ड्रेन होम स्कुलले जनसेवा मा.वि लाई १–० गोलअन्तरले पराजित गर्यो । ब्राइट होराइजनलाई विजयी गराउन गोराबहादुर ऐडीले १ गोल गरेका थिए ।
सोमबार लिग चरणका ४ खेल हुने नेपाल एपीएफ स्कुलका खेलकुद संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए । सोमबार एम्ब्रोसिया इन्टरनेसनल स्कुल र जेम्स स्कुल, बाघभैरव बोर्डिङ स्कुल र रिब्स स्कुल, ल्याब्रोटरी मा.वि. र लोयल्टी एकेडेमी तथा पुष्पसदन आवासीय मा.वि. र सैनिक आवासीय महाविद्यालयबीच प्रतिस्पर्धा हुने प्याकुरेलले बताए ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६