काठमाडौँ । रामबहादुर बमजनविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सर्लाही जिल्ला अदालतले बमजनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सिन्धुली प्रहरीलाई बिहीबार पत्र लेख्दै बमजनलाई उपस्थित गराउन भनेको छ ।
सर्लाही प्रहरीका अनुसार बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
यसैबीच सिन्धुलीको सितामेस्थित आश्रममा तपस्वी बमजनलाई पक्राउ गर्न गए पनि बमजन फेला नपरेको प्रहरीले बताएको छ । सिन्धुली बजारदेखि ६ किलोमिटर दूरीमा रहेको आश्रममा पुगेको सिन्धुली प्रहरीको टोलीलाई उनका अनुयायीहरुले तपस्वी अज्ञात स्थलमा ध्यानमा रहेको जानकारी दिएको प्रहरीले बताएको छ । अहिले प्रहरी बमजनको खोजीमा नै रहेको बताएको छ ।
यसअघि बमजनविरुद्ध ४ जना पुरुष र महिला बेपत्ता बनाएको भन्दै ३ जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका निवेदनमाथि पनि कुनै कारबाही हुन सकेको छैन ।
बमजनको आश्रमबाट २०६९ देखि २०७२ बीचमा ४ जना अनुयायी हराएको निवेदन ३ जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ । बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाउने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले यसअघि नै निवेदन दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६