अमेरिकालाई तिक्ततापूर्ण ढङ्गबाट विभाजित गर्नेगरी सुरु भएको महाभियोग प्रक्रियाबाट अन्तत: राष्ट्रपति डोनल्ड ट्रम्पले सफाइ पाएका छन् ।
ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् उनले राष्ट्रपति पदबाट हट्न नपर्नेगरी जोगिएका हुन्।
शक्तिको दुरूपयोग गरिएको भन्ने अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको थियो भने अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगमा उनले आफ्नो पक्षमा ५३-४७ मत पाएका थिए।
अभियोग
विपक्षी डेमोक्रयाटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए । आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुने छन् ।
बुधबारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।
डेमोक्रयाटहरूको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले भने गत १८ डिसेम्बरमा महाभियोग पारित गरेको थियो।
पूर्ण रूपबाट दोषमुक्त
नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपतीय निर्वाचनमार्फत् दोस्रो कार्यकाल ह्वाटहाउसमा आउन खोजिरहेका ट्रम्पले आफूले गतल गरेको कुरालाई अस्वीकार गर्दै आएका छन् ।
ट्रम्पको चुनावी अभियानले एक वक्तव्यमा भनेको छ : राष्ट्रपति ट्रम्प पूर्ण रूपबाट दोषमुक्त भएका छन् र यो अब अमेरिकी नागरिकको काममा फर्कने समय हो । केही नगर्ने डेमोक्रयाटहरूलाई थाहा छ कि उनीहरूले ट्रम्पलाई उछिन्न सक्दैनन् त्यसैले उनीहरूले महाभियोग लगाएका थिए ।
माथिल्लो सदनमा महाभियोग पारित हुन दुई तिहाई मत आवश्यक पर्थ्यो । तर संसद्को तल्लो सदनकी डेमोक्रयाटिक सभामुख न्यान्सी पेलोसीले भने ट्रम्प अझै अमेरिकी प्रजातन्त्रको लागि खतरा रहेको भन्दै सिनेटका रिपब्लिकनहरूले कानुनहिनतालाई सामान्यीकरण गरेको प्रतिक्रिया दिएकी छन् ।
संसदमा के भयो?
सन् २०१२ मा राष्ट्रपति पदका उम्मेद्वार भइसकेका मिट रोम्नी मात्र त्यस्ता रिपब्लिकन सांसद हुन् जसले ट्रम्पमाथि लागेको शक्तिको दुरूपयोग अभियोगमा उनीविरूद्ध मत हालेका थिए।
डेमोक्रयाटहरूले आशा गरेबमोजिम २ जना मध्यमार्गी रिपब्लिकनहरू सुसन कोलिन्स र लीसा मोर्वास्कीले ट्रम्प विरूद्ध लाग्न रोम्नीलाई साथ दिएनन् ।
पछिल्ला दिनमा केही रिपब्लिकन सांसदहरूले ट्रम्पको व्यवहारको आलोचना गर्ने गरे पनि त्यो महाभियोग नै लगाउने तहको नभएको बताउँदै आएका छन् ।
रिपब्लिकनहरूले आफ्नो पक्षमा उभिने अपेक्षा गरेका ३ डेमोक्रयाटिक सांसदहरूले भने ट्रम्प विरूद्ध नै मतदान गरे ।
सिनेटमा डेमोक्रयाटतर्फका माइनोरिटी नेता चक सुमरले रिपब्लिकनहरूले सुनुवाइका क्रममा साक्षी झिकाउन अस्वीकार गरेकोले उक्त सफाइलाई मूल्यविहीन बताए ।
अमेरिकामा हालसम्म ट्रम्पबाहेक अन्य दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन् । सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो । बिबिसी
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६