काठमाडाैं । काठमाडाैं भित्रिने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले सवारीसाधन धोईपखाली गरेर मात्रै उपत्यका प्रवेश गराउने भएको छ ।
सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ।
उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
उनका अनुसार विभागले अहिले धादिङको विभिन्न स्थानमा जग्गा खोजी गरिरहेको छ। उपयुक्त जग्गा भेटिनासाथ केन्द्र निर्माण सुरु हुने उनको भनाइ छ । उनले भने, ‘पटक पटक धादिङ पुगेर म आफैँले जग्गा हेरिरहेको छु।’
अहिले झण्डै ५–६ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ । सवारीसाधन पखालेर ल्याउँदा सवारीका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ ।
उपत्यकाबाहिरदेखि आउने सवारीसाधन मात्रै नभएर उपत्यकाभित्रै गुड्ने सवारीसाधनले समेत उपत्यकाका सडक फोहर बनाइरहेको महानिर्देशक हमालले बताए ।
काठमाडौँ उपत्यकाका सडक धुलो र हिलोका कारण उपत्यकावासी हैरान छन् । काठमाडौँ महानगरपालिका, ललितपुर माहानगरपालिका, सडक विभाग लगायतले सडकको धुलो सफा गर्नका लागि यान्त्रिक कुचो (ब्रुमर) सञ्चालन गरिरहेका छन् ।
सवारीसाधनबाटै भित्रने फोहर, निर्माण सामग्रीलगायतले दैनिक फोहर भित्र्याउँदा सडक धुलो र हिलोमुक्त भने बन्न सकेको छैन । -रासस
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६