काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अनुसन्धान पूरा भएकोले बुधबार नै अख्तियारको टोली अदालत पुगेर अभियोगपत्र दर्ता गरेको हो ।
अख्तियारले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको भनिएका आरोपितहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको हाे । अख्तियार प्रमुख नवीन घिमिरे र अन्य २ आयुक्तहरुको बैठकले यो निर्णय गरेको हो ।
अख्तियार स्रोतका अनुसार तत्कालीन उपप्रधान तथ भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गरिएको हो ।
ललिता निवास प्रकरणमा संलग्न रहेको आरोपमा तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीमाथि पनि मुद्दा दायर गर्ने निर्णय अख्तियारले गरेको छ ।
पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेकाे छ ।
त्यस्तै, चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतममाथि पनि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय अख्तियारले गरेको छ ।
मुद्दा परेकामध्ये सबैभन्दा धेरै मागदावी शाेभाकान्त ढकालमाथि गरिएको छ । उनलाई ४९ करोड २७ लाख ६८ हजार रुपैयाँको मागदावीसहित मुद्दा दायर भएको हो ।
त्यस्तै विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार, दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार, दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँको मागदाबी गरिएको छ। भाटभटेनी सुपरमार्केटसँग ५० करोड रुपैयाँ मागदाबी गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६