काठमाडाैं । वरिष्ठ पत्रकार तथा नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक दुर्गानाथ शर्माको बुधबार निधन भएको छ ।
पछिल्लो समय उनको मिर्गौलामा समस्या देखिएको थियो भने पिसाबसम्बन्धी समस्याबाट पनि पीडित थिए । महाराजगन्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा बुधबार बिहान शर्माकाे निधन भएको हो ।
गत मंगलबार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनलाई मंगलबार राति मनमोहन कार्डियोथोरासिकमा सारिएको थियो ।
विस २००४ साल जेठ १४ गते जन्मेका शर्माले गोरखापत्र दैनिकको संवाददातको रुपमा पत्रकारिता सुरु गरेका थिए । त्यसपछि शर्माले नेपाल टेलिभिजनकाे समाचार प्रस्तोता हुँदै नायब महाप्रबन्धक र महाप्रबन्धक भएर काम गरेका थिए ।
विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रसारण गर्दा उनी पहिलो प्रस्तोता थिए । साथै उनले नेपाल टेलिभिजनमा सुरु गरेकाे विश्वघटना नामक कार्यक्रमले निकै चर्चा पाएकाे थियाे ।
करिब ९ वर्षअघि नेपाल टेलिभिजनबाट अवकास लिएपछि नेसनल टेलिभिजन, माउन्टेन टेलिभिजनलगायतमा आबद्ध रहेर काम गरेका शर्मा पछिल्लो समय साहित्य क्षेत्रमा सक्रिय थिए । उनले ‘बिनाराहदानीको विदेश यात्रा’, ‘छाल’ लगायतका पुस्तक लेखेका छन् । त्यसका अलावा शर्मा पत्रकारिताकाे अध्यापन र प्रशिक्षणमा पनि सक्रिय थिए ।
इलामकाे फिक्कलमा जन्मेका शर्मा वरिष्ठ साहित्यकार तारानाथ शर्माका भाइ हुन् । शर्माका श्रीमती र २ छोरा छन् ।
यसैबीच वरिष्ठ पत्रकार शर्माको निधनप्रति नेपाल पत्रकार महासंघले श्रद्धाञ्जली व्यक्त गरेकाे छ । शर्माकाे निधनले स्तब्ध भएको भन्दै महासंघले नेपालको टेलिभिजन पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका शर्माको निधनले नेपाली पत्रकारिता जगतले कुशल, अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको जनाएको छ ।
यस्तै पत्रकारितासँग सम्बद्ध विभिन्न संघसंगठनहरूले पनि शाेक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६