काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएकाे छ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार बिहान सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९७ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । सुशन भारीले ३, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । नेपालका चर्चित लेग स्पीनर सन्दीप लामिछाने भने विकेटविहीन बनेका छन् । १० ओभ बलिङ गर्दा बिना विकेट सन्दीपले ४५ रन दिए ।
करणले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई बोल्ड आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसैगरी करणले सातौं ओभरको चौथो बलमा खवार अलिलाई क्याच आउट गराए
तेस्रो विकेटका रुपमा १३औं ओभरमा अकिब इलयास रन आउट भए । छैटौं विकेटका लागि गौड र मोहमद नादिमले ६० रनको साझेदारी गरे।
करण केसीले ४८औं ओभरमा २ विकेट लिए । उनले ४८औं ओभरको पहिलो बलमा १८ बलमा २८ रन बनाएर खेलिरहेका नसिम खुसीलाई क्याच आउट गराए भने चौथो बलमा भर्खरै मैदान प्रवेश गरेका खालीमुल्लाह आउट गराए ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६