दिल्लीको साहिनबाग हवाई फायरिङका आरोपी कपिल गुर्जरका पिताले आम आदमी पार्टीसँग आफ्नो र आफ्नो परिवारको कुनै सम्पर्क नरहेको बताएका छन् ।
भारतीय समाचार एजेन्सीसँग कुरा गर्दै गुर्जरका पिता गजे सिंहले भने, न म न मेरो परिवार कहिल्यै पनि आम आदमी पार्टीसँग सम्पर्कमा थिएन । म २०१२ को चुनावका बेला बहुजन समाजवादी पार्टीको साथमा थिएँ । तर त्यही वर्षदेखि मैले राजनीतिबाट बिदा लिएँ ।
दिल्ली विधानसभाको चुनाव नजिकिँदै जाँदा आम आदमी पार्टी र भाजपाबीच चर्को आरोप प्रत्यारोप चलिरहेको छ । भाजपाले मतदाताहरुको ध्यान मोड्न हवाई फायरिङका आरोपी आम आदमी पार्टीको मान्छे भएको आरोप लगाइरहेको छ भने आम आदमीले त्यसको खण्डन गरिरहेको छ । यद्यपि आरोपी कपिलले प्रहरी समक्ष आफ्ना पिताले २०१९ मा आपको सदस्यता लिएको बताएका थिए ।
केन्द्र सरकारको घेराबन्दी र असहयोगका बाबजुद आम आदमी पार्टीले दिल्लीका जनताका लागि उल्लेख्य काम गरेको छ । प्रारम्भिक सर्वेक्षणहरुले दिल्लीमा यो पटक पनि आम आदमी पार्टीले जित हासिल गर्ने रिपोर्टहरु सार्वजनिक गरिरहेका छन् । खासगरि मुस्लिम बाहुल्य रहेका विधानसभा सिटहरुमा भाजपाले हार बेहोर्नुपर्ने देखिएको छ । केन्द्र सरकारले ल्याएको नागरिकता सम्बन्धी कानुनका कारण मुस्लिम समुदाय भाजपासँग रुष्ट रहेको देखिन्छ ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६