काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले देशमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम रोजगारीको अवसर प्रवद्र्धनका लागि ‘सीप हुन्छ हातमा, राजगारी साथमा’ नाराका साथ जनसचेतना अभियन सुरु गरेको छ ।
मंगलबार सिटिइभिटीले पत्रकार सम्मेलन गर्दै अभियान शुभारम्भको जानकारी गराएको हो । विद्यार्थी, प्रशिक्षार्थी समुदाय, उद्योग तथा वाणिज्यको क्षेत्रलाई केन्द्रविन्दुमा राखेर अभियानले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको महत्वको प्रचारप्रसार गर्ने बताइएको छ ।
प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने तथा सम्बन्धित उद्यमी र प्राविधिक शिक्षा एवं तालिमबीचको सम्बन्धलाई अझ विस्तार गर्ने परिषद्को लक्ष्य रहेको परिषद्का सदस्य सचिव डा पुष्परमण वाग्लेको भनाइ छ । वर्तमान समयमा प्राविधिक र व्यावसायिक शिक्षाको ठूलो महत्व रहेको भन्दै सदस्य सचिव डा. वाग्ले भन्छन्, ‘आजको आवश्यकता भनेको नै उत्पादनमुखी प्राविधिक शिक्षा हो ।’
पहिलो चरणमा सिटिइभिटीले यो अभियान मुख्य रोजगार प्रदायक क्षेत्र समेटेर ३ प्राविधिक शिक्षालयमा लागू गर्ने जनाएको छ । पहिलो चरणमा बिपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट धनुषा, पोखरा टेक्निकल स्कुल पोखरा र टीकापुर पोलिटेक्निकल इन्स्टिच्युट कैलालीमा यो अभियान सञ्चालन हुने सिटिइभिटीले जनाएको छ ।
यस अभियानले विभिन्न गतिविधिका मार्फतबाट ३ प्राविधिक शिक्षालयको कार्यक्षेत्रभित्र रहेका सामुदायिक विद्यालय, रोजगारदाता तथा स्थानीय समुदायमा पायलटिङ गरिने सिटिइभिटीका प्रवक्ता मणिराज भट्टराईले जानकारी दिए । आगामी दिनमा यो अभियानलाई अन्य शिक्षालयमा पनि सञ्चालन गरिने परिषद्ले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६