सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका बन्द भएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गरेको हो ।
नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए ।
सीमापारि रहेकामा १२ जना सङ्खुवासभा र २ जना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताए । उनीहरूलाई नेपाल फर्काउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उनले बताए ।
उनका अनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ ।
‘चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि हामीले पनि भोटखोला नागरिकलाई सचेत रहन आग्रह गरेका छौँ’, उनले भने । कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ ।
खाद्यान्न संकट हुने अवस्था
चीनले यही माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट हुने अवस्थामा पुगेको अध्यक्ष भोटेले बताए ।
उनले भने, ‘हामी थुनिएका १४ जना र दैनिक उपभोग्य सामग्रीको अभावका बारेमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका छौँ ।’ सदरमुकामदेखि ५ दिनको पैदल दूरीमा रहेको भोटखोलाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन् ।
किमाथांका गाउँ र चीनको चाँगा बजार बीचमा रहेको कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन् । सोमबारको गाउँकार्यपालिकाको बैठकले किमाथांकाका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो ।
भोटखोलाका प्रत्येक घरलाई १ महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्न र ढुवानीका लागि हेलिकोप्टरको प्रबन्ध मिलाइदिन प्रशासनमा अनुरोध गरिएको अध्यक्ष भोटेले बताए ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६