भद्रपुर । बिर्तामोड नगरपालिका–२ चारपानेमा आगोले जलेको अवस्थामा १ जनाको शव फेला परेको छ । स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालको कुन्युसँगै जलेको अवस्थामा शव फेला परेको हो । मृतकको सनाखत हुन सकेको छैन ।
स्थानीयले मंगलबार खेतमा जलेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा परालको कुन्युभित्र मान्छे राखेर बाहिरबाट पराल जलाएको देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।
‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, जलेको अवस्थामा फेला परेको शव महिला वा पुरुष कसको भन्ने खुलाउने अवस्था छैन’, प्रहरी उपरीक्षक कोइरालाले भने । अहिले प्रहरी टोलीले घटनास्थलमै अनुसन्धान गरिरहेको उनले बताए ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६