गुल्मी । परराष्ट्र मन्त्री तथा नेकपाद्वारा गठित एमसिसी अध्ययन कार्यदलका सदस्य प्रदीप ज्ञवालीले मिलेनियम च्यालैन्ज कर्पोरेसन (एमसिसी) बारे नबुझेरै नेपालमा विरोध भएको बताएका छन् ।
मंगलबार गुल्मीकाे सदरमुकाम तम्घासमा आयाेजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको हित विपरीत सरकार एक इन्च पनि नझुक्ने दाबी गरे । ‘सरकार देशको हित विपरीत एक इन्च पनि झुक्दैन । नेपाली जनतालाई लाभ जेमा हुन्छ हामी त्यही अनुसार काम गर्छौं,’ ज्ञवालीले भने,‘कसैले पनि अनावश्यक टिकाटिप्पणी गरेर समय खेर फाल्नु हुँदैन ।’
एमसिसीको विषयमा टुंगो लगाउने गरी ३ सदस्यीय समिति गठन भएको बताउँदै मन्त्री ज्ञवालीले अबको १० दिनमा सरकारले ठोस निर्णय गर्ने समेत उल्लेख गरे । सरकार सञ्चालनको २ वर्ष पूरा हुन थालेको बताउँदै ज्ञवालीले जनतामा सरकारप्रति विश्वास बढेको दाबीसमेत गरे ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६