काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानलको शुभारम्भ गराइने घोषणा गरेका छन् ।
टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वर्ल्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिए ।
उनले सोका लागि सरकारले बजेट र आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए । सो टेलिभिजनका हाल ५ च्यानल प्रसारण भइरहेका छन् । मन्त्री बाँस्कोटाले सरकारी सञ्चारमाध्यम जनता र राज्यको माध्यम तथा सम्पत्ति भएको उल्लेख गर्दै मुलुकको आधिकारिक सूचना र भिडियोलाई विदेशीले हेर्नुपर्दा नेपाल टेलिभिजनबाट हेर्नुपर्ने गरी उक्त नयाँ च्यानलबाट हेर्ने गरी संकल्प लिनु अत्यावश्यक भएको बताए । उनले भने, यी संस्था जनता र राज्यका सम्पत्ति हुन् । यसलाई हेर्ने आँखा बदलिनुपर्छ । यही हाम्रा देशका केही धरोहरभित्र पर्छन् । घोषणा र तयारी गरेपछि सबै कुरा सम्भव छ । न्यायपूर्ण समाजको परिकल्पना वा समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सम्भव छ । रासस
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६