काठमाडौँ । फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको स्थानीय तहकाे निर्वाचनमा नेपाली मूलका निर्मल अर्याल रिभिलर अबरभिलियर्स समूहको तर्फबाट नगर उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
आगामी मार्च महिनाको १५ र २२ तारिकमा हुने स्थानीय तहको निर्वाचनका लागि हाल बसोबास गरिरहेको अबरभिलियर्स नगरपालिकामा उपप्रमुख पदका लागि उम्मेदवारी दिएको अर्यालले बताएका छन् ।
फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशाँनदनि जिल्लामा रहेको अबरभिलियर्स नगरपालिका जिल्लाको चौथो ठुलो नगरपालिका हो भने यो नगरपालिकामा करिब ८५ हजार जनसंख्या छ । फ्रान्समा ३५ हजारभन्दा बढी स्थानीय तह छन् । जसमध्ये ८५ प्रतिशत गाउँपालिका छन् ।
एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षकसमेत रहेका अर्याल फ्रान्सकै एक प्रतिष्ठित इन्सुरेन्स कम्पनीको सिनियर वातावरणीय इन्जिनियर हुँदै प्राेस्याेरमेन्ट प्रमुखको रुपमा कार्यरत छन् ।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६