सुनसरी । आइतबार बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ ।
चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
माइक्रोबसका चालक धादिङ बैरेनी–३ बस्ने २८ वर्षीय दीपक खड्काको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै झापा भद्रपुर–८ घर भई हाल काठमाडौँ बस्ने ७५ वर्षीय हेमराज कोइराला र उनकी ६५ वर्षीया श्रीमती डोलमायाको घटनास्थलमै मृत्यु भएको छ ।
भक्तपुर निवासी १७ वर्षीया गरिमा गौतम र भद्रपुर निवासी ४५ वर्षीय टंकप्रसाद काफ्लेको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।
झापा धरमपुर–९ का होमबहादुर दर्जी र झापाकै सावित्रा राई गम्भीर घाइते भएका छन् । सवारी दुर्घटनामा सामान्य घाइते भएका १० जनाको उपचार भइरहेको प्रदेश नम्बर १ को प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६