धनगढी । मोटरसाइकल दुर्घटनामा परी १ व्यक्तिको मृत्यु भएको घटनालाई लिएर पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्कीचुहा सडकखण्ड आइतबार तनावग्रस्त बनेको छ ।
मोटरसाइकल दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारबाहीको माग गर्दै स्थानीयवासीले बिहानैदेखि अवरुद्ध पारेको सडक खुलाउने क्रममा प्रहरीमाथि ढुंगा प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको हो ।
स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए । यस क्रममा प्रहरीले केही राउन्ड अश्रुग्यास प्रयोग गरेको थियो । ढुंगा प्रहारबाट प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टसहित केही प्रहरी सामान्य घाइते भएका छन् ।
लम्कीचुहा सडकखण्ड अवरुद्ध हुँदा यातायात आवागमन बिहानैदेखि ठप्प छ । शुक्रबार राति सो सडकखण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लम्की चुहानगरपालिका–६ का मायाराम चौधरीको मृत्यु भएको थियो ।
प्रहरीले उक्त मोटरसाइकललाई ठक्कर दिएको आशंकामा एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । अहिले समस्या समाधानका लागि सर्वपक्षीय बैठक बसिरहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६