लखनउ । भारतकाे उत्तर प्रदेशको राजधानी लखनउमा पर्ने हजरतगञ्ज क्षेत्रमा गोली हानेर अन्तर्राष्ट्रिय हिन्दू महासभाका अध्यक्ष रञ्जित बच्चनको हत्या गरिएको छ ।
मर्निङ वाकका लागि निस्केका अध्यक्ष बच्चनको आइतबार बिहान अज्ञात समूहले गोली हानेर हत्या गरेको हो । मोटरसाइकलमा सवार २ जनाको समूहले चलाएको गोली टाउकोमा लागेका अध्यक्ष बच्चनको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सँगै मर्निङ वाकमा गएका उनका साथी आशीष श्रीवास्तव पनि घाइते भएका छन् । उनको लखनउकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भारतीय सञचार माध्यमहरुले प्रहरीलाई उद्धृत गर्दै हत्यारको खोजी भइरहेको जनाएका छन् ।
यसअघि गत वर्ष हिन्दूवादी नेता कमलेश तिवारीको पनि घरमा आएको समूहले हत्या गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६