काठमाडाैं । पाँचखाल नगरपालिका–८ खटार पाँडुलास्थित उपकार इँटा उद्योगका एक मजदूर शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
भारतको दरभङ्गा निवासी ४८ वर्षीय भोली सदाय बिहान ८ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक गोविन्द अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सदायलगायत उद्योगका ४ जना मजदूर सँगै सुतेको र ३ जना बिहान सबेरै काममा निस्किएका थिए । बिहान ७ बजे काममा आउनुपर्नेमा काममा नआएपछि उनका साथीले हेर्न जाँदा सदाय मृत अवस्थामा देखिएका थिए ।
सदायको सुतिरहेको अवस्थामा राति नै मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीले बताए ।
मृतक सदायको दरभङ्गामा रहेको परिवारलाई घटनाबारे जानकारी गराइएको प्रनि अधिकारीले जानकारी दिए । सदायले उद्योगमा मिस्त्रीको काम गर्दै आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६