काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आलिताल गाउँकमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । शुक्रबार पार्टीकाे काममा खटिएको बेला जाेशी अज्ञात समूहकाे अपहरणमा परेका थिए ।
आलितालभन्दा करिब ५ सय मिटरमाथि चौरवण्डले भन्ने स्थानबाट मुकुण्डोधारी समूहले अपहरण गरी कुटपिट गरेर गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले जानकारी दिए । उनको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ ।
उनलाई एम्बुलेन्समार्फत धनगढी लगिएको छ । जोशी सवार से ६ प ७९२६ नम्बरको मोटर साइकलमा पनि तोडफोडा गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकमा आगजनीको समेत प्रयास गरिएको छ ।
नेकपा डडेल्धुराका सचिव वीरेन्द्रकुमार बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै आलिताल गाउँपालिका–३ को वडा कमिटी बैठकमा सहभागी हुन जाने क्रममा वडाकै चौरबण्डमा मुकुण्डोधारी समूहले जोशीको अपहरण गरेको जनाएका छन् ।
‘गैरराजनीतिक तरिकाले आतंककारी शैलीमा गरिएको यस्तो घटनाले हाम्रो पार्टी र पार्टी कार्यकर्ताको मनोबलमा कुनै प्रकारको विचलन आउने छैन र यस्ता प्रकारका घृणित क्रियाकलाप जो कसैले गरेको भएपनि आफैं जनता र समाजको अगाडि नाङ्गिने छन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘नेकपा डडेल्धुरा यस्ता प्रकारका उच्छृंखल गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई सचेत गराउन चाहन्छ । यस्तो घृणित क्रियाकलापमा संलग्नहरूलाई यथाशीघ्र खोजी कानून बमोजिम हदैसम्म कारवाहीका लागि नेकपा डडेल्धुरा अनुरोध गर्दछ ।’
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६