काठमाडौं । टिपरको ठक्करबाट गोरखामा १ महिलाको मृत्यु भएको छ । गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय विद्यालयमा दूध पुर्याउन जाँदै गरेकी ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको हो ।
गोरखा नगरपालिका १० अमलापानी घर भएकी मनमाया भुइँमा लडेपछि ग १ ख ८०२७ नम्बरको टिपरले ब्याक गरेर मारेको स्थानीयको दाबी छ ।
स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गर्नुका साथै क्रसर उद्योगका अन्य ४-५ वटा टिपरमा तोडफोड पनि गरेका छन् । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले अहिले घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । पीडित परिवारले शव उठाउन मानेका छैनन् ।
घटनास्थलमा जम्मा भएका स्थानीय र आफन्तजनले क्रसर अवैध भएको भन्दै बन्द गर्न माग गरेका छन् । उनीहरुले माग पूरा नभएसम्म शव नउठाउने अडान लिएका छन् ।
गोरखा नगरपालिका वडानम्बर १३ मा दर्ता भएको, तर वडा नम्बर १० मा स्थापना गरेर सञ्चालन गरिएकाले सो क्रसर उद्योग बन्द गराउनुपर्ने स्थानीयको माग छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६