काठमाडौं । कोटेश्वर–जडीबुटी सडकको जाम हटाउन दीर्घकालीन समाधनका लागि सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणका लागि तयारी अघि बढाउने भएको छ । सरकारले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) लाई विस्तृत अध्ययनका लागि अनुरोध गरेकाले जापानी टोली आगामी महिना आउने बताइएको छ ।
गत वर्ष नै जाइकाले पूर्वसम्भाव्यता अध्ययन गरिसकेकाले सरकारले विस्तृत अध्ययनका लागि समेत जाइकालाई नै अनुरोध गरेको हो । जाइकाले नै तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको थियो । सोही सडकमा रहेको सवारी चापको समाधानमा समेत जाइकाले विगतका वर्षदेखि नै चासो देखाउँदै आएको सडक विभाग, विकास समन्वय महाशाखा प्रमुख (उपमहानिर्देशक) अर्जुनजङ्ग थापाले बताए । उनले भने, जाइकाले अध्ययन गरिसकेकाले उसले विस्तृत अध्ययन गरेर निर्माण गरोस् भन्ने हामीले चाहेका छौँ ।
जाइकाले गरेका पूर्वसम्भाव्यता अध्ययनमा तीन विकल्प देखिएका छन् । जसमा मुख्य सडकमै वा विमानस्थलको क्षेत्रमा ‘अण्डरपास’ वा ‘ओभरफ्लाइ रहेको छ । विमानस्थलको क्षेत्रभित्रै ‘अण्डर पास’ निर्माण गर्नु नै सबैभन्दा उत्तम हुने प्रमुख थापाले बताए । विश्वका धेरै देशमा माथि ‘रनवे’ र तल ‘अण्डरपास’ हुने गरेको उनको भनाइ छ । ‘रनवे’ को तल ‘अण्डरपास’ निर्माण गर्दा निर्माण अवधिमा समेत सवारी साधन आवतजावतमा समस्या नहुने उनले बताए ।
यस स्थानमा नेपाल सरकारले पनि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । विगतका अध्ययनका आधारमा नै कुन विकल्प उत्तम हुन्छ भनी खोज्न सकिने प्रमुख थापको भनाइ छ । आफूहरु जापानी टोलीसँग पटक–पटक वार्तामा बसिरहेको उनले बताए । उनले भने, सरकार आफैँले निर्माण गर्न हामीसँग प्राविधिक विश्वास (टेक्निकल कन्भिडेन्स) नभएकाले वैदेशिक सहयोगमा पनि गर्न सकिने देखिन्छ ।
जाइकाले भने कोटेश्वर–जडीबुटी सडकमा ‘अण्डरपास’ वा ‘ओभरफ्लाई’ सँगै एउटै प्याकेजमा अरनिको राजमार्ग विस्तारको काम अघि बढाउन चाहेको पनि प्रमुख थापाले बताए । सूर्यविनायकबाट धुलिखेलसम्म सडक विस्तार पनि सँगसँगै गर्ने जापानी टोलीले बताउँदै आएको छ । सरकारले भने त्यो सडकलाई भन्दा पनि जडीबुटीको सवारी जामको समाधान चाँडो निकाल्नुपर्ने बताएको छ । यस वर्ष अध्ययन सकेर आगामी वर्षबाट निर्माण शुरु गर्न सकिने उनले बताए । उनले भने, अबको वर्तामा कसरी अघि बढ्ने भन्ने टुङ्गो लाग्न सक्छ ।
पूर्वमन्त्री रघुवीर महासेठ भने जाइकासँगको सहकार्यमा निर्माण गर्ने भन्दा पनि सरकार आफैँले निर्माण गर्ने बताउँदै आएका थिए । त्यसका आधारमा सरकारले पनि एक चरणको अध्ययन गरेको थियो । राष्ट्रिय राजमार्ग निर्माण भएर सञ्चालनमा आइरहँदा सो सडकमा सवारी चाप बढिरहेको छ । अरनिको राजमार्ग, धुलिखेल–सिन्धुली–बर्दिवास सडक र मध्यपहाडी लोकमार्गका कारण यहाँ हँुदै दैनिक धेरै सवारीसाधन उपत्यका बाहिर जाने आउने गरेका छन् ।
लामो दूरीका सवारी साधनसँगै भक्तपुर, काभ्रे वा काठमाडौँका कागेश्वरी–मनोहरा नगरपालिकातर्फ जाने सवारीसाधन दैनिक जाममा पर्दा चालक र यात्रु हैरान छन् । पहिले कोटेश्वर–जडीबुटी सडकमा मात्रै यो समस्या भए पनि अहिले तीनकुनेबाट लोकञ्थलीसम्मै बढेको पाइन्छ । कार्यालय समयमा र साँझको समयमा सडकमा जामको समस्या बढी छ ।
सडक विभागले जडीबुटी जामको समाधानका लागि विभिन्न विकल्प पनि खोज्दै आएको छ । भक्तपुरसम्म जाने सवारी साधनलाई बिजुलीबजारबाटै वाग्मती करिडोर हुँदै बालकुमारीको मनोहरा करिडोरबाट कौशलटारसम्म जाने गरी करिडोरको ट्र्याक खोलिइसकेको छ । त्यसलाई थिमि चारदोबाटोसम्म पुर्याउने योजना बनाइएको छ । ट्राफिक प्रहरीले ललितपुरतर्फ जाने सवारी साधनलाई लोकञ्थलीबाट ‘डाइभर्सन’ गरेर मनोहरा करिडोर पठाउने गरेको छ ।
सडक विभागले अहिले विमानस्थलसँगको समन्वयमा कोटेश्वर–जडीबुटी सडकमा एक–एक लेन थप्ने तयारी गरेको छ । तर ती सबै समाधान दीर्घकालीन नहुने भन्दै दीर्घकालीन समाधानका रुपमा ‘ओभरपास’ वा ‘फ्लाइओभर’ लाई नै लिइएको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गत महिना नागढुङ्गा–नौबिसे सुरुङमार्ग जापान सरकारको ‘सफ्टलोन’ बाट निर्माण शुरु भएको छ । सुरुङमार्गसँगै एउटै सम्झौताबाट जापानी निर्माण कम्पनीले सो स्थानमा दुई फ्लाइओभरसमेत निर्माण गर्दैछ । अर्थ मन्त्रालयले सुरुङमार्गकै लागि चालू आवमा रु ५९ करोड विनियोजन गरेको छ । विनियोजित बजेट प्राथमिताका आधारमा कुन योजनालाई कति छुट्याउने भन्ने निर्णय हुने मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६