काठमाडाैं । काठमाडाैंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्कासहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई गत शुक्रबार सानेपाबाट नियन्त्रणमा लिएको हो।
१ महिलाले देहव्यापार गर्ने गरेको उजुरी दिएपछि सानेपाको १ खाजाघरमा प्रहरीले छापा मारेको थियो। ललितपुरका एसएसपी टेकप्रसाद राईले अभियोगबारे थप अनुसन्धान गर्नुपर्ने भएपछि खड्कासहित ३ जनालाई गत शुक्रबार नियन्त्रणमा लिएको बताए ।
पक्राउ परेका ठाकुर भारत मोतिहारीका हुन् भने श्रेष्ठ काठमाडाैं महानगरपालिका १६ का स्थायीबासिन्दा हुन् । एसएसपी राईका अनुसार, मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार ९ दिन म्याद थपेर उनीहरूमाथि अहिले अनुसन्धान भइरहेको छ ।
वडाध्यक्ष पक्राउबारे नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भने मौनता साधेका छन् । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले खड्का घुम्न निस्केको जानकारी आफूले पाएको बताए ।
‘केही दिनदेखि वडाध्यक्ष खड्का सम्पर्कमा हुनुहुन्न। घुम्न गएको सुनेको हुँ । तर पक्राउबारे केही थाहा छैन’, वडाध्यक्ष खड्का पक्राउबारे जिज्ञासामा मेयर बस्नेतले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६