काठमाडौं । श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज हनुमानढोका दरबारमा वसन्त श्रवण गरेकी छिन् ।
हनुमानढोका दरबारको नासल चोकमा पुगेर राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन अनुसार राष्ट्रपति भण्डारी त्यहाँ पगेकी हुन् । आज बिहान ९ बजेर ५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको १ टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गरे ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरे ।
परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरेका थिए । वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।
वसन्त श्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराउँछ । विगतमा राष्ट्राध्यक्षको हैसियतमा राजाहरुले वसन्त श्रवण गर्ने चलन रहे पनि गणतन्त्र स्थापनापछि राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने थालिएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६