भक्तपुर । जिल्लाको उत्तरपूर्वी क्षेत्रका स्थानीयलाई लक्षित गरी वित्तीय कारोबार गर्दै आएको श्री युवा बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ ।
चाँगुनारायण–६ खरिपाटीमा रहेको सहकारीले नगरकोट बसपार्कस्थित भट्टेडाँडामा सेवा केन्द्र विस्तार गरेको संस्थाका अध्यक्ष प्रल्हाद बाँस्तोलाले जानकारी दिए ।
चाँगुनारायण नगरपालिका ५, ६ र ७ का ३ वटा वडामा कार्यक्षेत्र बनाई वित्तीय कारोबार गरिरहेको युवाका सदस्य र कारोबार वृद्धि हुँदै गएपछि सदस्यहरुलाई प्रभावकारी सेवा प्रदान गर्न सेवा केन्द्र विस्तार गरिएको संस्थाका सचिव सोम शर्मा (बजगाईं) ले बताए । उनले छिट्टै बागेश्वरी र छालिङमा पनि १–१ वटा सेवा केन्द्र विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिए ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा ६ नम्बर वडाका वडाध्यक्ष सन्तबहादुर वाइवाले जिल्लाकै उत्कृष्ट सहकारीका रुपमा सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको युवाले सेवा केन्द्र विस्तार गरेपछि स्थानीयलाई सहज सुविधा पुग्ने बताए ।
संस्थाले आफ्नो कार्यक्षेत्र २ वटा वडामा विस्तार गरी चाँगुनारायणको ४ र ८ मा समेत कारोबार फैलाउन प्रक्रिया अगाडि बढाइएको व्यवस्थापक बिनोद लामिछानेले बताए ।
श्री युवा साकोसमा हाल ३ हजार ९ सय ८० सदस्य र १४ सय ८६ बाल सदस्य रहेको र संस्थाको कुल कारोबार ५३ करोड २६ लाख २० हजार रहेको संस्थाका कोषाध्यक्ष प्रकाश बास्तोलाले जानकारी दिए । संस्थाको सेयर पुँजी ३ करोड ५६ लाख ७२ हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६