काठमाडौं । काठमाडौँको उत्तरी क्षेत्र टोखामा ५ वटा पार्क निर्माण गरिने भएको छ । टोखा नगरपालिकाले चालु आवमा २ पार्क निर्माण गर्न शिलान्यास गरेर काम थाले पनि आगामी वर्षसम्म ५ वटा पार्क निर्माण गर्न लागेको हो ।
टोखा नगरपालिकाले नगरपालिकाभित्रको बढ्दो जनसङ्ख्यालाई लक्षित गरेर आरामका लागि पार्क बनाउन लागेको हो । काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्र रहेका १० वटै नगरपालिकालाई पार्क निर्माणका लागि १-१ करोड रुपैयाँ वितरण गरेपछि टोखा नगरपालिकाले पनि पार्क निर्माण कार्यलाई प्राथमिता दिएको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिका–१ बौडेश्वरमा ३ करोड ३२ लाख रुपैयाँकाे लगानीमा ‘चिल्ड्रेन पार्क’ निर्माण गर्न लागेको बताउँछन् । बालबालिकालाई खेल्नदेखि आराम गर्न मिल्ने गरी निर्माण गर्न लागिएको पार्क २०७७ असार मसान्तमा सक्ने लक्ष्य राखेका छौँ , उनले भने ।
यस्तै टोखा नगरपालिका–५ मा १ करोड ५६ लाख रुपैयाँकाे लागतमा कल्की मन्दिर पार्क निर्माण गर्न लागिएको छ । उक्त पार्कको शिलान्यास सम्पन्न भइसकेको नगरपालिका प्रमुख अधिकारीले जानकारी दिए । उक्त पार्क पनि २०७७ असार मसान्तसम्म सम्पन्न भइसक्ने छ ।
टोखा नगरपालिकाले ३ वटा पार्क निर्माणका लागि भने डिपिआर गरेर बोलपत्र आह्वान गर्ने क्रममा छ । टोखा–३ झुडोलमा निर्माण हुने झुडोल पार्क, टोखा–८ मा बन्न लागेको जालपा पार्क र टोखा–१० मा निर्माण हुन लागेको महिन्द्रेश्वर पार्कका लागि बोलपत्र आह्वान गर्ने काम हुँदै छ ।
नगरपालिकाले झुडोल पार्क निर्माणका लागि १० लाख, जालपा पार्क निर्माणका लागि ५० लाख र महिन्द्रेश्वर पार्क निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । रासस
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६