झापा । झापामा रहेको मुलुकको पहिलो रासायनिक मल उद्योग ‘लुना नेपाल केमिकल एन्ड फर्टिलाइजर प्रालि’ चमेराको बासस्थानमा परिणत भएको छ ।
मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा २०५९ सालमा स्थापना भएको थियो । सञ्चालनको केही समयपछि उद्योग बन्द हुँदा चराका बासस्थानमा परिणत भएको हो । उद्योगको कार्यालय र भवन झाडीले छोपिएका छन् ।
उद्योगले नेपालमै पहिलोपटक युरिया, नाइट्रोजन, पोटास, डिएपीलगायतका रासायनिक मल उत्पादन गरेको थियो । भारत सिक्किमका राजनीतिज्ञ अशोककुमार सुब्बाले नेपाली साझेदारसँग मिलेर उद्योग सञ्चालनमा ल्याएका थिए । उद्योग सञ्चालन गर्न कृषि विकास बैंकबाट सञ्चालकले २५ करोड ऋण लिएका बताइएको छ ।
चारआली– भद्रपुर सडकको छेउमा, गोरखकाली सिमेन्ट उद्योग र सेन्चुरी सिमेन्ट उद्योगको बीचमा चार बिघा जमिनमा रहेको सो उद्योगमा छ वटा साना ठूला भवन रहेका छन् । भवनभित्र रहेका जेनेरेटर र मेसिनका पार्टपूर्जा केही पनि छैनन् , उद्योगको रेखदेखको जिम्मेवारी लिएका स्थानीयवासी गोपाल तिम्सिनाले भने, १७ वर्षदेखि उद्योग बन्द हुँदा सबै सामान चोरी भइसके, खोक्रो भवन मात्र बाँकी छ ।
उद्योगको वरिपरि इँटाको पर्खालले घेरिए पनि कार्यालय परिसरभित्र बनमारा झार, तिते र विभिन्न जातजातिका वनस्पति उम्रिएर छन् । भवनका प्रायः कोठामा चमेराको वासस्थान रहेको चौकीदार दीपक राजवंशीले जानकारी दिए ।
उनले भने, घरतिरबाट खेदाइएको हात्ती कहिलेकाहीँ रातभर यही बस्छन्, उद्योग क्षेत्र नै जङ्गलजस्तो भएकाले गाउँलेले लेखेटेका जङ्गली हात्ती पर्खाल भत्काएर पस्ने गरेका छन् ।
उद्योगले भारतबाट भित्र्याएको रासायनिक मललाई प्याकेजिङ मात्र गरेर नेपाली ब्राण्डमा बेच्न थालेपछि बजार छिट्टै खस्किएको थियो । मल अलोकप्रिय भएपछि उद्योग बन्द भएको जनाइएको छ ।
कृषि विकास बैंकको ऋण तिरिदिएर काठमाडाँै निवासी निरकुमार श्रेष्ठले रु सात करोडमा १४ महिना अघि सो उद्योग आफ्नो नाममा बताइएको छ ।
झापाको भद्रपुर नगरपालिका–५ मा उद्योगी सुबोध कोठारी, दीपक पोखरेल, बुद्धि घिमिरे र ओम अग्रवालको संयुक्त लगानी खोलिएको एभरेस्ट केमिकल एन्ड फर्टिलाइजर इन्डस्ट्रिज प्रालि पनि बन्द भएको छ । आठ वर्ष अघि रु चार करोडको लगानीमा स्थापना गरिएको सो उद्योग डेढ महिना सञ्चालन गरेर बन्द गरिएको थियो । उद्योगले मिश्रित दानादार धन वर्षा मल उत्पादन गर्दै आएको थियो ।
आवश्यक कच्चा पदार्थको अभावले उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको सञ्चालक घिमिरेले बताए । एक बिघा १४ कट्टा जमिन खरिद गरेर सञ्चालनमा ल्याइएको सो उद्योगको मल बनाउने मेसिन काम नलाग्ने अवस्थामा पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६