काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकाेटाकाे नेतृत्वमा पहिलाेपटक प्रतिनिधिसभाकाे बैठक बसेकाे छ । संयाेग ने मान्नुपर्छ, सापकाेटाले अध्यक्षता गरेकाे पहिलाे दिन नै प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बाेधन गरे । र सभामुखमा निर्वाचित भएकामा सापकाेटालाई बधाई पनि दिए ।
सदनलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले सर्वसम्मतरूपमा सभामुख चयन हुनु राम्रो लक्षण भएको बताए । उनले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहनेसमेत बताए ।
‘मुलुकको संविधानको रक्षा, त्यसको मर्मअनुसार परिपालना, कार्यान्वयन र कानुनसम्मत ढंगले संसदलाई मर्यादित ढंगले अगाडि बढाउन सफलता प्राप्त गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ ओलीले भने, ‘म आफ्नो तर्फबाट यहाँलाई पूर्ण सहयोग रहने वचन दिन चाहन्छु, संसद् सञ्चालनका लागि सकारात्मक सहयोग रहने स्पष्ट पार्न चाहन्छु ।’
प्रधानमन्त्री ओलीले देशलाई विकासको दिशामा अगाडि बढाउन प्राथमिकता छुट्याएर बढ्नुपर्ने बताए । लोकतान्त्रिक प्रणाली स्थापित गरिसक्यौँ । जनतामा सार्वभौम शक्ति आइसक्यो । हामीले प्रणाली मात्र होइन लोकतान्त्रिक प्रक्रिया अगाडि बढाएका छौँ , ओलीले भने, लोकतान्त्रिक प्रक्रिया संविधान कार्यान्वयनमार्फत अगाडि बढाएका छौँ । संविधानलाई गतिशील बनाउने क्रममा कार्यान्वयन गर्दै अगाडि बढाउँदै छौँ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्नुपर्ने लगायत धेरै काम बाँकी रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘थुप्रै विधेयक पारित गर्नुपर्ने छ । प्रस्ताव पारित गर्नुपर्ने छ । एमसीसीजस्तो कुरा पारित गर्नुपर्नेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘अलिकति विलम्ब भइसकेको छौं । अब विलम्ब गर्नुहुन्न । समय खेर नफालौं ।’
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६