काठमाडौं । त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छिन् ।
सोमबार बिहान प्रहरीमा हाजिर हुन पुगेकी राउतलाई स्वास्थ्य परीक्षण गराएर महानगरीय प्रहरी परिसर काठमाडौंकाे नियन्त्रणमा राखिएको छ ।
उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालय गएकी थिइन् । उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो ।
गायिका राउतसँग प्रहरीले बयान लिएर सरकारी वकिल कार्यालय लगेको छ । सरकारी वकिल कार्यालय जाने क्रममा राउतले पत्रकारहरुसँग कानुनभन्दा माथि कोही पनि नरहेको र कानुनअनुसार आफूलाई हुने कारबाही स्वीकार गर्ने बताइन् ।
उनले भनिन्, ‘कानुनलाई सहयोग गर्न आएकी हुँ । उहाँहरुले सौहार्द्रपूर्ण वातावरणमा आफ्नो कुराहरु राख्न दिनुभयो । कानुनभन्दा माथि कोही पनि छैन । कानुनअनुसार ममाथि के कारबाही हुन्छ त्यो स्वीकार गर्छु । कानुनलाई कसैले नमिचौँ भन्न चाहन्छु ।’
त्रिभुवन विमानस्थलमा चेकजाँच क्रममा गायिका आस्था र त्यहाँकी महिला प्रहरीबीच विवाद भएको थियो । त्यसपछि गायिका आस्थाले आफ्नो फेसबुकमा भिडियोमार्फत प्रहरीविरुद्ध आक्रोश पोखेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६