काठमाडाैं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन् ।
आइतबार सभामुखमा निर्वाचित सापकोटाले साेमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेका थिए । शपथपछि उनी सिधै सिंहदरबारस्थित संघीय संसदको सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् । संसद् सचिवालयका कर्मचारीहरूले उनकाे स्वागत गरेका थिए ।
यसैबीच, पदभार ग्रहण गर्दै सापकाेटाले अदालतमा रहेको आफ्नाे मुद्दकाे विषयमा बोल्नु जायज नहुने बताएका छन् । ‘ममाथिकाे मुद्दा सर्वोच्चमा छ । अहिले केही नबोलौं,’ सापकोटाले भने ।
काभ्रेका अर्जुन लामा हत्या आरोपमा मुद्दा रहेका व्यक्तिलाई सभामुख बनाएकोमा विरोध भइरहेको छ नि ? भन्ने प्रश्नमा सापकोटाले लोकतन्त्रमा विरोध सामान्य भएको प्रतिक्रिया दिए ।
सभामुख सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)काे विषयमा हतार गर्न नहुने प्रतिक्रिया दिए । सञ्चारकर्मीहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्ययन गर्दै जाउँ न सबैले । यसलाई अहिले किन हतार गर्नुपर्यो र ?’
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६