काठमाडौँ । एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई आइतबार ६ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । रिहा हुनुअघि आइतबार नै सरकारी वकिलको कार्यालयमा मनाङेसँग बयान लिइएको थियो ।
रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङेले ठग मिलन गुरुङविरुद्ध सफल भएको बताए । ‘एन्फा भ्रष्टाचार अब उजागर हुन्छ, यसको सुरुआत मैले गरेँ,’ उनले भने ।
मनाङेले आफूमाथि कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष गुरुङले मंगलबार प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले मनाङेलाई पक्राउ गरी दुर्व्यवहार तथा फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६