हेटौँडा । बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय अशोक कुमार र भारत बिहारका २२ वर्षीय विनोद सहनी छन् । खालिद एम्बुलेन्सका चालक हुन । पक्राउ परेका तीनै जनालाई पत्रकार सम्मेलनमार्फत आइतबार प्रहरीले सार्वजनिक गरेको हो ।
गाँजा तस्करी गर्न प्रयोग भएको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई एम्बुलेन्समा गाँजा लैजाँदै गरेको भन्ने सूचनाका आधारमा शनिबार साँझ पक्राउ गरेको जनाएको छ ।
मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको एम्बुलेन्समा गाँजा राखेर लगिरहेको भन्ने सूचनाका आधारमा डुमरिया स्वास्थ्य चौकीको उक्त एम्बुलेन्सलाई प्रहरीले हेटौँडाको नेवारपानीमा रोकी जाँच गर्दा ३ झोलामा ६ पोका बनाई लुकाइराखेको साढे ३० किलो गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुका साथबाट नेपाली ९१ हजार रुपैयाँ र २ हजार भारतीय रुपैँयासमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६