टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् ।
भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो सहर सिभरिसमा थियो । तर भूकम्पको धक्का छिमेकी सहरहरुमा पनि महसुस गरिएको थियो ।
टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकाय (आफाड) ले ३१ जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ । भूकम्पबाट करिब १ हजार ६ सय ७ जना घाइते भएका छन् ।
उद्धारकर्मीहरु शनिबार र आइतबार दिनरात मानिसहरुको जीवितै उद्धारमा खटिएका थिए । आफाडका अनुसार पछिल्लो पटक ४५ जनालाई उद्धार गरिएको छ ।
भूकम्पबाट करिब ८० वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ६ सय ४५ वटा घरमा ठूलै नोक्सानी भएको छ । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले भूकम्प पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकारले तत्काल कदम चाल्ने बताए ।
उनी शनिबार एलाजिगमा आयोजित भूकम्पबाट मृत्यु भएका १ परिवारको दाहसंस्कार कार्यक्रममा सहभागी भए ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६