कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कल्भर्ट निर्माण पूरा भएपछि १ घण्टाको बाटो २ मिनेटमै पुग्न सकिने भएको छ ।
वडा कार्यालयले ७ लाख रुपैयाँ खर्चेर कल्भर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो । नालामा कल्भर्ट निर्माण नहँुदा एम्बुलेन्स, दमकललगायत साधन बस्तीसम्म पुर्याउन सम्भव थिएन , वडाध्यक्ष लालबहादुर शाहीले भने, कल्भर्ट बनेपछि सवारीसाधन सहज रुपमा बस्तीमा पुग्न थालेका छन् ।
नालामा कल्भर्ट नहुँदा ३ किलोमिटरको घुमाउरो बाटो भएर जान १ घण्टा लाग्थ्यो , स्थानीयवासी रमेश पन्तले भने, अब त्यो बाटो २ मिनेटमै पूरा गर्न सकिने भएको छ, नालामा कल्भर्ट निर्माण पूरा नहुँदा बस्तीका कोही बिरामी परेमा नालाको कम्मरसम्मको पानी तरेर पार गर्नु पर्दथ्यो ।
नालामा कल्भर्टसँगै तटबन्धसमेत निर्माण गरिएकाले नालाको नजिकैको बस्तीमा वर्षातको पानीसमेत छिर्दैन । नालाको पानी स्थानीय बासिन्दाको खेतमा छिर्दा बालुवाले पुर्ने समस्या थियो । नालामा कल्भर्ट निर्माणको कार्य १३ वर्षअघि सुरु गरिएको थियो ।
धेरै पटक नगरपालिकादेखि विभिन्न निकायमा कल्भर्ट निर्माण पूरा गरिदिन गाउँका बासिन्दा पुगे पनि बन्न सकेको थिएन । कल्भर्ट निर्माण नहुँदा २५ हजार प्रतिकट्ठा जग्गामा बिक्री नहुने गरेको जग्गाको भाउसमेत बढेको छ । प्रतिकट्ठा जग्गाको मूल्य हाल ७ लाखभन्दा बढी पुगेको स्थानीयवासीको भनाइ छ । रासस
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६